TRENDING

चुनावी प्रचारमा आचारसंहिताको ख्याल गर्न आयोगको ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भोलिदेखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत समेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहीता प्रतिकूल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गरेका छन् ।

राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाही हुने स्पष्ट पार्दै राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्न पनि सचेत गराएका छन् ।

उनले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनै पनि शब्दहरु उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोलालगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका सामग्रीहरु प्रयोग नगर्न पनि सचेत गराए । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि आग्रह गरेका छन् । उनले सार्वजनिक ठाउँमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्न नहुने, कुनै पनि कार्यक्रम गर्दा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने पनि उल्लेख गरे ।

उनले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका र समानुपातिकका उम्मेदवारहरुले तोकिएभन्दा बढी गाडी प्रयोग गर्न नहुने स्पष्ट पार्दै सयौँ बस लिएर आमसभा गर्न नपाइने, बस, ट्रक, ठेलागाढा, ट्रयाक्टरलगायतका साधनहरुको प्रयोग गरेर त्यसमा पर्चा पम्प्लेट टाँसेर, त्यसको अगाडि झण्डा राखेर प्रचारप्रसार गर्न नपाइने बताएका छन् ।

निर्वाचन आयुक्त भण्डारीले सरकारी लाभको पदमा बसेर उम्मेदवार हुन र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नपाउने भन्दै कोही त्यसरी सहभागी भएको पाइएमा वा देखेमा आयोगलाई सूचना दिन आग्रह गरेका छन् । निर्वाचन आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अक्षरसः पालना गर्न आग्रह पनि गरेको छ ।