TRENDING

सूर्यमा भोट नहाल्नेलाई उपेन्द्रले कारवाही गर्ने

काठमाडौं । नेकपा एमालेसँगको चुनावी तालमेलप्रति पार्टी पंक्तिमा असन्तुष्टि बढेको भनिएको बेलामा जनता समाजवादी पार्टी ९जसपा० ले सूर्यमा मतदान गर्न निर्देश गरेको छ । प्रतिनिधिसभातर्फ देशभर जम्मा १७ सीट लिएर दोब्बर बढी क्षेत्रमा एमालेलाई सघाउने निर्णय गरेको जसपाले सोहीअनुसार निर्वाचनमा परिचालित हुन र भोट खसाल्न नेता–कार्यकर्तालाई निर्देशन दिएको हो ।

तालमेल भएका ठाउँमा संयुक्त उम्मेदवारलाई र तालमेल नभएका स्थानमा पार्टीका उम्मेदवारको पक्षमा परिचालित हुन जसपाले भनेको छ । केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले आज वक्तव्य जारी गर्दै दुवै पार्टीका उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न, मत माग्न र निर्वाचनमा विजयी बनाउन समर्थक, शुभचिन्तक तथा सदस्यहरुलाई निर्देशन दिएका हुन् ।

त्यस्तै, पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी हाल्नेलाई जसपाले निष्कासनको कारवाहीसमेत गरेको छ । पार्टी अनुशासन उल्लङ्घन गरेर उम्मेदवारी कायम राखेको आरोपमा उनीहरुलाई पार्टीबाट निकालिएको हो ।

‘पार्टी नीति, निर्णयविपरीत स्वतन्त्र रुपमा उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरुले पार्टी अनुशासन उल्लङघन गरी उम्मेदवारी कायम राखी रहेकाले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको छ’, अधिकारीको वक्तव्यमा भनिएको छ ।

उम्मेदवारी मनोनयनको केही दिन अघिसम्म सत्ता गठबन्धनमै रहेको जसपा अन्तिम समयमा एमालेतिर गएको थियो । तर, विगतमा आफैँले मधेसविरोधी पार्टीका रुपमा चित्रित गरेको एमालेसँग सहकार्य गर्ने केन्द्रीय निर्णयलाई लिएर तल्लो तहमा भने असन्तुष्टि चर्किएको छ । सोही कारण दुवै पार्टीका तर्फबाट आधिकारिक उम्मेदवारविरुद्ध ठाउँ–ठाउँमा बागी उठेका छन् ।