TRENDING

सूर्य चिन्हबाट उठेका राप्रपाका अध्यक्ष कमल थापाले यसरी गरे एमाले कार्यालयमा पुगेर सम्बोधन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले मकवानपुरका जनसंगठनका प्रतिनिधिहरुबीचको अन्तरक्रियालाई सम्बोधन गरेका छन् । उनले हेटौँडा ५, सानोपोखरास्थित एमाले पार्टी कार्यालयमा पुगेर हिजो सम्बोधन गरेका हुन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा सूर्य चुनाव चिन्हबाट उम्मेदवार बनाइएका थापाविरुद्ध आइतबार एमाले कार्यकर्ताले कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

तर, रातारात केही अगुवा एमालेजनसँग सम्बन्ध सुधारका लागि घरभेट गरेका थापा आज एकाएक एमाले कार्यालयमा पुगेर सम्बोधन गरेका हुन् । एमाले कार्यकर्तालाई सम्बोधन गर्दै उनले केपी ओलीसँग २०७२ सालमा मन्त्रीपरिषदमा सहकार्य गर्दाका अनुभवहरु सगर्व सुनाएका छन् ।

‘लिम्पियाधुरालाई नेपालको नक्सामा राख्न वैधानिक रुपमा भूमिका खेल्नु भएका ओलीको कदम ऐतिहासिक थियो’, थापाले सम्बोधनमा भनेका छन्, ‘राष्ट्र र राष्ट्रिय स्वाधीनताका पक्षमा त्यसबखत हामीले एकरत्ति पनि विश्वासघात गरेनौँ ।’

उनले आफू एमाले परिवारको सदस्य हुन पाएकोमा गर्व लागेको समेत सुनाए । मकवानपुरका २ वटा प्रतिनिधिसभा क्षेत्रसहित ४ वटै प्रदेश सभामा सूर्य ध्वजावाहक उम्मेदवारले जित्ने उनले दाबी गरेका छन् । थापाले देशभर एमालेलाई अफ्ठ्यारो पर्दा मकवानपुरबाट एमालेलाई बचाउन आफू अघि सर्नुपरेको भन्दै कमल कसैको भाग खोस्न नआएको बताए । उनले भने, ‘म एमालेजन र राष्ट्रवादीहरुको अस्तित्व जोगाउनका लागि यो ठाउँमा उभिएको हुँ ।’

कार्यक्रममा एमालेका भूमिगतकालका पुराना नेताहरुसमेत सहभागी थिए । मञ्चमा बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठसहित अनन्त पौडेल, राष्ट्रिय सभा सांसद रामचन्द्र राई, एकालाल श्रेष्ठ, श्रीधर पोखरेल, देवराज रिमाल, इन्द्र नेपाल थिए । माओवादीबाट स्थानीय तहको चुनावअघि एमाले प्रवेश गरेका नेता बलराम बल, निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बर्तौला लगायत पनि थिए ।

थापाको सम्बोधन सुने पनि अधिकाँश नेता उत्साहित थिएनन् । सभाहलमा सहभागी केहीले थापाको भाषणमा बीच बीचमा ताली बजाएका थिए । एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर अध्यक्ष ओलीले थापालाई टिकट दिएपछि मकवानपुर एमाले तरंगित छ ।