TRENDING

टेकुमा जम्मा भएको फोहोर बन्चरेडाँडा लैजाँदै

काठमाडौँ । टेकु ट्रान्सफर स्टेसनमा जम्मा भएको फोहोरको ढुवानी गर्न फोहोर मैला व्यवस्थापन संघले सुरु गरेको छ । काठमाडौंका मेयर बालेन्द्र शाहले फोहोरमैला व्यवस्थापनका लागि सार्वजनिक आह्वान गर्दै सहयोग गर्न अपिल गरेका थिए । लामो समयसम्म फोहोर नउठ्दा महानगरमा फोहोरको डंगुर थुप्रिएको थियो । यस्तै टेकुस्थित ट्रान्सफर स्टेसनमा धेरै फोहोर जम्मा भएपछि महानगर एक्लैले ढुवानी गर्न सक्ने अवस्था नआएपछि मेयर शाहले सहयोगका लागि अपिल गरेका हुन ।

हाल टेकु ट्रान्सफर स्टेसनमा ९ सयभन्दा बढी टिपर फोहोर रहेको अनुमान छ । ती फोहोर ढुवानी गर्नका लागि महानगर एक्लैल गर्दा महिनादिनसम्म लाग्ने भएपछि फोहोर मैला व्यवसायी संघले सहयोग गरेको हो । संघका महासचिव मित्रप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरुले ट्रान्सफर स्टेसनको फोहोर ढुवानी गर्न लागिएको बताए । शनिबार संघमा आबद्ध निजी क्षेत्रका कम्पनीका टिपरले बन्चरेडाँडा ल्यान्डिफिल साइट ढुवानी गरिररहेका छन् । संघले करिब सयभन्दा टिपर फोहोर निःशुल्क रुपमा व्यवस्थापन गर्ने जनाएको छ ।

काठमाडौं महानगरपालिकाभित्र २७ वटा निजी कम्पनीले फोहोर व्यवस्थापन गर्दै आएका छन् । घरघरबाट फोहोर संकलन गरेर उनीहरूले आफैं त्यसलाई सर्टिङ गरेर ल्यान्डफिल साइट पुर्याउँदै आएका छन् । टेकु ट्रान्सफर स्टेसनमा महानगरका सवारी साधानले स्थानीयस्तरमा संकलन भएको फोहोर थुपार्ने र त्यहाँबाट टिपरमा हालरे ल्यान्डफिल साइट लैजाने गर्छ ।