

काठमाडौं। पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमश ः प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिनुभयो । समितिको अध्यक्षसमेत रहनुभएका सचिव न्यौपानेले सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाउनुभयो । सङ्ग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गर्नुभएको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ ।
बा अ २ नम्बरको गाडी त्रिभुवन र उहाँको परिवारले प्रयोगमा ल्याउनुभएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले राससलाई जानकारी दिनुभयो । अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्नुहुने जानकारी पनि समितिले दिएको छ । यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गर्नुभएको बा१च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो ।
तीनैवटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङरोगन गरिएको छ । यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरुङले बताउनुभयो । विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गरिएको हो । दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्नेगरी खुला गरिएको छ । बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ । ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये सङ्ग्रहालयले करिब ५११ रोपनी भाग ओगटेको छ ।
दरबार क्षेत्रको करिब २४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ । नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिकस्थल रहेकाले सङ्ग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ ।
रोचकबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
मुर्माटप हिमाल : पर्यटक आकर्षणको केन्द्र
गाउँको पाखोबारीमा चियाखेती
साउनको पहिलो सोमवार : देशभरका शिवालयमा भक्तजनको भिड
वर्षमा औसतभन्दा १६ किलो बढी भात खान्छन् नेपाली
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७