

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताउनुभएको छ । नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानबारे आज मन्त्रालयमा सरोकारवालाहरुसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारीरूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि गठित समितिले हालै मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेकाले छलफलमा उठेका थप विषय र सुझावलाई समेटेर सोही आधारमा कार्यक्रम तयार गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोभिडपछिको पर्यटन पुनरुत्थानको योजना बनाउन गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा नसमेटिएका विषयलाई छलफलबाट आएका सुझावलाई आधार मानेर तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामको योजनाबद्ध कार्यक्रम तय गरेर अघि बढ्छौँ ।”
मन्त्री श्रेष्ठले मन्त्रालय र मातहत निकायका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन समयसापेक्ष नीतिगत सुधारका कामलाई पनि सँगै अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले पर्यटन क्षेत्रमा भएका कतिपय विकृति नियन्त्रण गर्न सरोकारवालाको सक्रिय सहयोग चाहिने खाँचो औँल्याउनुभयो ।
कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव र आगामी रणनीतिबारे राय सुझाव लिने उद्देश्यले आयोजना गरिएको छलफलमा पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले पर्यटन पुनरुत्थानको कामलाई योजनाबद्ध प्रभावकारीरूपमा अघि बढाउन, नीतिगत सुधारदेखि सेवा सुदृढीकरणका बारेमा सुझाएका थिए ।
होटल सङ्घ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटनलाई प्राथमिकतायुक्त उद्योगका रूपमा मान्यता दिएर यस क्षेत्रको विकासका लागि लगानी आकर्षण र प्रोत्साहनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन्तर्राष्ट्रिय प्रवद्र्धनको कामलाई प्रभावकारीरूपमा अघि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको भन्दै हिमाल आरोहण क्षेत्रलाई व्यवस्थितरूपमा अघि बढाइनुपर्ने बताउनुभयो ।
पर्यटन व्यवसायी दीपक महत, शिव अधिकारी, कुमार खड्का, विभूतिचन्द ठाकुर, कुमारमणि थपलिया, घनेन्द्र श्रेष्ठलगायतले पर्यटन क्षेत्रका चुनौती र सम्भावनाबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका उपसचिव सरोज पोखरेलले पर्यटनको अवस्था र आगामी योजनाबारे संक्षिप्त प्रस्तुती दिनुभएको थियो ।
पर्यटनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
अन्नपूर्णले पोतेको खुसीका रङ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७