

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले नागरिकता विधेयक, बाढीपहिरो, डुबान, विपद् व्यवस्थापन, किसानलाई मल उपलब्ध गराउनेलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले नागरिकता विधेयक तत्काल अघि बढाउन, मनसुन सक्रिय रहेकाले विपद् व्यवस्थापनको कार्यलाई प्राथमिकता दिन तथा किसानलाई मल उपलब्ध गराउन माग गर्नुभयो ।
सांसद दुर्गा पोखरेलले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको अधिकार दिनका निम्ति सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि कानून बनाउन सुझाव दिनुभयो । उहाँले भारतलगायत संसारका सबै मुलुकमा प्रवासी नेपालीलाई मतदानको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद विन्दा पाण्डेले संविधानमा व्यवस्था भएको मौलिक हकको कार्यान्वयन हुन नसकेको गुनासो गर्दै अब हुने प्रदेश र सङ्घीय निर्वाचनमा महिला उम्मेदवारले उठ्ने व्यवस्था सुनिश्चित गरिनुपर्ने माग गर्नुभयो । सांसद सीताराम महतोले सुनसरी जिल्लाअन्तर्गत ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने र त्यसका लागि चाहिने रासायनिक मल अभाव रहेको भन्दै तत्काल मल व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सुनसरी खोला र कक्रो खोलामा तटबन्धनको व्यवस्था गर्न तथा सुनसरी जिल्ला अस्पताललाई जनशक्ति व्यवस्थापन गरी सेवालाई सुदृढ बनाउन माग गर्नुभयो ।
सांसद देवप्रसाद गुरुङले बृहत् शान्ति सम्झौता भएको १६ वर्ष बितिसक्दा पनि सत्य निरुपण मेलमिलाप आयोग र बेपत्ता आयोगको समयावधि समाप्त हुनलाग्दा पनि पीडितले न्याय नपाएको गुनासो गर्नुभयो । उहाँले शान्ति प्रक्रिया राष्ट्रिय स्वाधीनताको विषयसँग जोडिएको आन्तरिक मुद्दा भएकाले दलहरुबीच राष्ट्रिय सहमतिका आधारमा प्रभावकारीरूपमा समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले क्रिकेट खेल व्यवस्थापनका लागि विदेशी कम्पनीलाई विनाप्रतिस्पर्धा जिम्मा दिएकोमा आपत्ति जनाउँदै त्यसबारे खेलकुदमन्त्रीले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो । सांसद रङ्गमती शाहीले नागरिकता जस्तो संवेदनशील विधेयक सदनमा पेश भएर पनि छलफल हुन नसकेको भन्दै नेपाली नागरिकलाई नागरिकताको सुनिश्चितताका लागि दलीय स्वार्थभन्दा माथि उठेर विधेयक अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद राजेन्द्रप्रसाद गौतमले जलविद्युत् उत्पादन प्रवद्र्धन र विदेशी लगानी आकर्षण गरी ऊर्जाको पहुँच अभिवृद्धि गर्न ध्यान दिन आग्रह गर्नुभयो । उहाँले ‘नेपालको पानी जनताको लगानी’ भन्ने सरकारको अभियानलाई जनसहभागितामा आधारित लगानी अभिवृद्धि गर्न स्थानीय र सङ्घीय सरकारको सहभागितामा व्यवस्थापन गर्ने सरकारको योजना के छ भनी प्रश्न गर्नुभयो ।
सांसद लालप्रसाद साँवा लिम्बुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तु महँगिएको र यसको मारमा मजदुर, किसान, कर्मचारी शिक्षक, मध्यमवर्गीय समुदायका लागि राहत दिन माग गर्नुभयो । उहाँले शेयर बजार उकास्न नीतिगत सुधारको व्यवस्था गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद विद्या भट्टराईले अविरल वर्षाले पोखरा असुरक्षित रहेको, पोखराका विभिन्न स्थानमा डुबान, पहिरोलगायत विपद्का घटना बढिरहेको भन्दै प्रभावित परिवारको उद्धार र पुनर्वासका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७