TRENDING

शिक्षकहरुका लागि नयाँ पोशाक तोकियो

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि शिक्षकहरुका लागि नयाँ पोशाक तोकिएको जानकारी दिएको छ ।

खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । त्यस्तै साडी, ब्लाउज, कुर्ता सुरुवालको रङ भने परिवर्तन भएको छैन ।

हालसम्म कालोमा सेतो धर्का भएको कोट र पाइन्ट तथा हल्का नीलो रङको सर्टलाई पोशाकका रुपमा तोकिएको थियो ।

शिक्षकहरुकै माग अनुसार पोशाक परिवर्तन गरिएको शाखाले जनाएको छ । यसअघि तोकिएको पोशाक अधिकांशले मन नपराई नियमित नलाएपछि पोशाक परिवर्तन गर्नुपर्ने माग राखिएको नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताउनुभयो ।

शुक्रबार साँझसम्म पोशाकको नमुना तयार हुने र सो नमुना नेपाल शिक्षक महासंघबाट लिन सकिने शाखाले जनाएको छ ।

पोशाक खरिदका लागि सरकारले शिक्षकलाई वार्षिक प्रतिव्यक्ति दश हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।