TRENDING

मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्रीसहित ५ मन्त्रीहरुको विदेश भ्रमणको लर्को

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । गत असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न निर्णय सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्को निर्णयमा मन्त्रीहरुको विदेश भ्रमणले प्राथमिकता पाएको छ । जसअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ गतेदेखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् ।

त्यस्तै, ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम–२०२५ मा भाग लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्की जाँदैछन् । सो कार्यक्रम असार १३ देखि १५ गतेसम्म रहेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको दुवइ भ्रमणसमेत स्वीकृत गरेको छ । असार ३ र ४ मा हुने कार्यक्रममा भाग लिन उनी हाल दुवइमा रहेका छन् ।

त्यसैगरी, स्वीजरल्याण्डको जेनेभामा आगामी असार २३ गतेदेखि २७ गतेसम्म हुने कार्यक्रममा भाग लिन सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वीकृति प्रदान गरिएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेल थाइल्याण्डकोे बैंकक भ्रमण पनि स्वीकृत भएको छ । आगामी असार ९ देखि १३ गतेसम्म आयोजना हुने कार्यक्रममा भाग लिन मन्त्री पौडेल थाइल्याण्डको बैंकक जान लागेका हुन् ।