TRENDING

प्रचण्डले फेरि सुनाए माधव नेपाल र विप्लवको पार्टीसँग एकताको सम्भावना

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) र नेकपासँग एकताको लागि छलफल चलिरहेको खुलासा गरेका छन् ।

माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग मोर्चाबन्दी भैरहेको र विप्लवले नेतृत्व गरेको नेकपासँग पनि सहकार्य भैरहेकोले छिट्टै एकता हुने सम्भावना सुनाए । आज (मंगलबार) खुमलटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

अहिले नेकपा (एकीकृत समाजवादी) र नेकपा समाजवादी मोर्चामा छन् । उनले अब समाजवादी क्रान्तिलाई नयाँ चरण र उचाईंमा लगिने विश्वास दिलाए । त्यसको लागि विगतमा पार्टीैले गरेका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढिने प्रतिबद्धता जनाए । उनले अहिले माओवादीको पक्षमा जनमत बढेको समेत दाबी गरे ।