TRENDING

कालिका ओपन स्काउट क्र्युमा सुचना,प्रविधी सम्बन्धी प्रशिक्षण

चितवन । पुर्वी चितवनको कालिका नगरपालिका- ६ स्थित कालिका ओपन स्काउट क्र्युमा मंगलबार एक दिने सुचना,प्रविधी सम्बन्धी प्रशिक्षण (tech talk with scout)  सम्पन्न भएको छ। कालिका ओपन स्काउट क्र्युको आयोजना तथा एन.डब्लु.टेक,भरतपुरको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रम कालिकास्थित माध्यामिक विद्यालय रेडक्रसग्राममा संचालन भएको थियो।

कालिका ओपन स्काउट क्र्युका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माध्यामिक विद्यालय रेडक्रसग्रामका प्रधानाध्यापक नन्दलाल लामिछानेमो प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कालिका ओपन स्काउट क्र्युका रोभर,रेन्जर तथा स्काउट विद्यार्थीहरु गरी कुल ३७ जना को सहभागीता रहेको थियो । क्र्युका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वागत मन्तव्य क्रममा आईटी करियरको बारेमा विद्यार्थीमा सुरुबाटै ज्ञान दिन सकियो भने उनीहरू सक्षम, आत्मनिर्भर र नवप्रवर्तनशील बन्न सक्ने भन्दै यसका लागि विद्यालय, कलेज, युवा समूह र अभिभावकहरूले यो ज्ञान दिनमा विशेष भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

सो कार्यक्रमका मुख्य प्रशिक्षकका रुपमा रहेका ई रेग्मिले आईटी करिअर रोडम्याप, वेभ टेक्नोलोजी वर्क फ्लो र एआई सम्बन्धी आधारभुत ज्ञान बारे जानकारी गराउँदै अहिलेको डिजिटल युगमा आईटी सम्बन्धी ज्ञानको आवश्यकता अत्यन्तै बढ्दो रहेको , संसारभर रोजगारी, व्यवसाय, शिक्षा र सरकार संचालनमा सूचना प्रविधिको प्रयोग बढ्दो भएको र यसै कारण आईटी क्षेत्रमा करियर बनाउनेलाई अपार अवसरहरु साथै सम्मानजनक र उत्साहजनक जीवन प्रदान गरिरहेको बताए ।

क्र्यु ईन्चार्ज विशाल दराईले संचालन गरेका सो कार्यक्रमको प्रभावकारी व्यवस्थापन आयुष पाठकले गरेका थिए। सो कार्यक्रमको दोश्रो सत्रमा स्काउटिङको परिचय सँगै गाँठो सम्बन्धी व्यवहारीक सीप सिकाईएको थियो।

विगत देखि नै युवा र समुदाय लक्षित विविध कार्यक्रम गर्दै आएको कालिका ओपन स्काउट क्र्युमा हाल ५० भन्दा बढी रोभर रेन्जर आवद्ध रहेका छन।