TRENDING

चलचित्र ‘जार’ को ग्राण्ड प्रिमियर सम्पन्न, यस्तो छ प्रतिक्रिया

 काठमाडौं । वैशाख २६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘जार’को राजधानीमा भव्य प्रिमियर गरिएको छ । मंगलबार ललितपुरको लबिम महलस्थित क्यूएफएक्समा चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा उपस्थित अधिकांशले निर्देशक लामा र कलाकारहरुको सशक्त अभिनयको तारिफ गरेका थिए। मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, ललितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमील, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशकद्वय प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

चलचित्र हेरेर निस्किएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो चलचित्र ‘जार’ पूर्ण रूपमा मौलिक चलचित्र बनेको बताउँदै नेपालमा जार प्रथाको इतिहास बुझ्न भएपनि अहिलेको पुस्ताले यो चलचित्र हेर्नु पर्ने सुझाव दिए । उनले भने,‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि भएपनि यो चलचित्र हेर्नुपर्छ। आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको कथालाई आज चलचित्रमा हेर्न पाउँदा निकै आनन्द लागेको छ ।’

यस्तै, ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्ण मौलिक चलचित्र लागेको बताए । उनले जारको टिमलाई बधाई दिँदै ’जार’ राम्रो चलचित्र निर्माणको उदाहरण बनेको बताए ।

नेतृ हिसिला यामीले पनि ’जार’ अहिलेको समसामयिक सन्दर्भको सशक्त चलचित्र भएको बताइन् । अहिले आर्थिक र राजनीतिक समस्या नै नेपाली युवा–युवतीको घाँटीमा जार बनेर झुन्डिएको उनले बताइन् । चलचित्र हेर्न पुगेकी अभिनेत्री मनिषा कोइराला पनि चलचित्रको तारिफ नगरी बस्न सकिनन। उनले ‘जार’ नेपाली चलचित्रको बढ्दो स्तरको प्रमाण भएको बताइन् ।

उनले भनिन्, ‘जारले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा भने हामी विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’

त्यस्तै, अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली चलचित्रको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वा छिरिङ लामाको दृढ आत्म विश्वासको प्रशंसा गरिन् । यता निर्देशक दिपेन्द्र लामाले पनि ‘जार’ हेरेपछि निर्देशकको कलात्मक उत्कृष्टता र नेपाली सिनेमा एउटा नयाँ उचाइमा पुगेको प्रतिक्रिया दिए। प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । त्यस्तै, अर्का अभिनेता अनुपविक्रम शाहीले ’जार’ ले इतिहासलाई पर्दामा उतार्ने प्रयास गरेको बताउँदै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए ।

१८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो। चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ मा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन र झुमा लिम्बू र गंगा थापाको संगीत छ ।