TRENDING

निजामती विधेयक अगाडि बढिसकेको भन्दै आन्दोलन स्थगित गर्न थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारी ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विधेयक अघि बढेको भन्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्।

उनले भने, ‘निजामती विधेयक अगाडि बढेको छ। एकपटक प्रतिवेदन अध्ययन गरेर पास गरौं भन्ने कुरा आएको छ। सरकार भनेको सबैले मिलेर चलाउने होे। काम सुस्त भइरहेको बेलामा दबाब दिने भन्ने कुरा स्वभाविक हो। बसेर छलफल गरेर टुंग्याउँदै गर्दा यसलाई सकारात्मक रुपमा लिएर त्यसलाई टुंग्याउने वातावरण बनाउन सबैले मद्दत गर्नुपर्छ।’ यसअघि मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समितिमै उपस्थित भएर विभिन्न १० बुँदे माग पेस गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए।

उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन्। निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ। संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ।

मुख्य समाचारबाट थप समाचार