

काठमाडौं । ह्याकरको एक समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट ह्याक गरेको दाबी गरेको छ । डेटा खरिद-बिक्री गर्ने प्लेटफर्म ब्रिच फोरममा बुधबार पोस्ट राख्दै ‘घुद्रा’ (Ghudra) नामक ह्याकर समूहले हेलो सरकारको सिस्टम नियन्त्रणमा लिएको दाबी गरेको हो ।
यो समूहले आफू ‘फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत रहेको उल्लेख गरेको छ । फेन्सी बियर्स एपीटी २८ समूह रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएको समूहका रूपमा लिइन्छ । यो संवेदनशील जानकारी चोर्ने र डिभाइसमा हानिकारक सफ्टवेयर इन्स्टल गर्ने समूहका रूपमा परिचित छ । यस समूहको निशानामा प्रायः सरकारी कार्यालय पर्ने गर्छन् ।
“नेपाल सरकारले हामीसँग सम्पर्क गर्न अस्वीकार गरेकाले हामी यो सुरक्षा डेटा उल्लङ्घन बिक्री गर्न बाध्य भएका छौं,” ह्याकरले पोस्टमा भनेको छ । उक्त पोस्टमा हेलो सरकारको सिस्टमको फाइल मेनेजरको स्क्रिनशट राखिएको छ । जहाँ ‘https://gunaso.opmcm.gov.np/’ को लिङ्क शीर्ष स्थानमा राखिएको देख्न सकिन्छ ।
स्क्रिनशट विश्लेषण गर्दा यो यस्तो इन्टरफेस भएको देखिन्छ, जसले सुरक्षाको जानकारी, फाइल एक्सेस, कन्सोल, डेटाबेस मेनेजमेन्ट, पीएचपी सेटिङको अप्सन उपलब्ध गराउँछ । ह्याकरले आफूसँग सबै डेटावेसको ब्याकअप रहेको दाबी गरेको छ । उक्त स्क्रिनशटमा ४९.९८ जीबीको सर्भर स्टोरज भएको देखिन्छ । जसमा ८.३२ जीबी स्टोरेज बाँकी भएको देखाइएको छ ।
ह्याकरले आफूसँग युजरनेम, इन्क्रिप्टेड पासवर्ड, मोबाइल नम्बर, उक्त युजर नेम बनाएको मिति रहेको उल्लेख गरेको छ । त्यसमा पेस्टबिनको लिङ्क पनि राखिएको छ ।
पेस्टबिन भनेको यस्तो साइट हो, जहाँ अस्थायी रूपमा कुनै जानकारी पेस्ट गरिन्छ । उक्त लिङ्कमा व्यक्तिको नाम, नम्बर, ईमेल र गुनासोसँग सम्बन्धित ईमेल र पासवर्ड राखिएको छ ।
टेकपानाले त्यहाँ भएका कूल १७ ओटा अकाउन्टमध्ये अधिकांशलाई सम्पर्कको प्रयास गरेको थियो । सम्पर्कमा आएका व्यक्तिहरूले नाम, नम्बर र आफू काम गर्ने ठेगाना पुष्टि गरेपनि गुनासोसँग सम्बन्धित ईमेलबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे । त्यसमा अधिकांश नगरपालिकाको प्रशासन हेर्ने प्रमुखको नाम राखेको देखिन्छ ।
यस विषयमा हेलो सरकारसँग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका जानकारहरूका अनुसार ह्याकरले दाबी गरेको डेटा वास्तविक नै भएको देखिन्छ । यद्यपि ह्याकरले दाबी गरेको एक लाख प्रयोगकर्ताको डेटा उसँग छ वा छैन भन्ने पुष्टि हुन सकेको छैन ।
ह्याकरले ब्रिच फोरममा टेलिग्राम च्यानलको पनि लिङ्क उपलब्ध गराएको छ । उक्त च्यानलमा नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको डेटाको पहुँच भएको दाबी गरिएको छ । यसको मूल्य १००० डलर (करिब १३ लाख रुपैयाँ) राखिएको छ । त्यस्तै लाइभ शेल एक्सेस (Live Shell Access) पाउन १३०० डलर तिर्नुपर्ने भनिएको छ ।
२७ फागुनदेखि हेलो सरकारको सिस्टम डाउन छ । सिस्टम नचलेपछि हेलो सरकारले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको थियो । अहिलेसम्म पनि उक्त वेबसाइट डाउन छ । तर, हेलो सरकारले साइट अवरुद्ध हुनुको कारण बाहिर ल्याएको छैन । टेकपानाले खबर छापेको छ ।
बिज्ञान / प्रबिधिबाट थप समाचार
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७