TRENDING

पूर्वराजालाई अघि सारेर आ–आफ्नो दुनो सोझ्याउने दाउ

पूर्वराजा ज्ञानेन्द्र शाह त काठमाडौँबाट देशका विभिन्न भागमा आउने जाने गरिरहन्छन् । कुनै बेला राजसिंहासनमा रहेका व्यक्तिलाई हेर्न र भेट्न प्रत्येक नेपाली नागरिकसँग कौतुहल हुने नै भयो । त्यसैले उनी पुगेका ठाउँमा केही दर्जन मानिस भेला हुनु ठूलो कुरा होइन ।

तर यसैलाई राजसंस्था पुनर्स्थापनाको माहोलमा बदल्न भन्दै केही व्यक्तिहरु आफ्नो निजी स्वार्थको रोटी सेक्न लागिपरहेका छन् । गणतन्त्रवादी भनिएका माओवादी, कांग्रेस र एमालेप्रतिको निराशालाई पनि कथित राजावादीहरु आफ्नो राजनीतिक पुँजीमा रुपान्तर गर्न खोजिरहेका छन् ।

हो गणतन्त्रवादीले जनतामा आशा दिने काम गर्न सकेका छैनन् । सरकारप्रति निराशा र राजावादीको उक्साहटका कारण ज्ञानेन्द्र पनि केही हौसिएका हुन सक्छन् । तर एउटा डोजर चलिरहेको ठाउँमा पनि सयौँ मान्छे घन्टौँसम्म उभिएर हेर्नको लागि भिड लाग्ने देशमा तिनीहरुले आफ्नो गद्दी फिर्ता ल्याइदिन्छन् भनेर ठान्नु ज्ञानेन्द्रका लागि मूर्खता हुनेछ ।

आइतबार काठमाडौँको प्रदर्शनमा पनि एकै खालका मान्छे छैनन्द। केही पूर्वपञ्च एवं पुरातनपन्थीहरू छन् । जो हिजो पञ्चायतकालमा दरबारको छत्रछाया पाएका थिए, अनुचित लाभ उठाएका थिए, अहिले पनि त्यो विरासत फर्काउन सकिन्छ कि भन्ने दाउमा छन् उनीहरु ।

एउटा पंक्ति एकदमै अवसरवादी छ । त्यो दुर्गा प्रसाईँले जम्मा गरेको भिड भन्दा पनि हुन्छ । ती २० लाखसम्मको ऋण मिनाह हुन्छ, बैंकको पैसा तिर्नुपर्दैन भन्नेजस्ता हावादारी कुराको पछि लागेका छन् ।​​​​​​ अर्कोथरी कमल थापा र राजेन्द्र लिङ्देनबीच को बढी राजावादी हुने र कसले धेरै मान्छे देखाउने भन्ने प्रतिस्पर्धाका कारण जम्मा भएकाहरु छन् । उनीहरु साँच्चै ज्ञानेन्द्रलाई राजाका रुपमा फर्काउने भन्दा पनि यही व्यवस्थामा राजाको नाम भजाएर आफ्नो पक्षमा धेरै मान्छे भेला पारेर राजनीतिक निर्वाह गर्ने । चुनावमा केही सिट जित्ने र सत्ता राजनीतिमा च्याँखे दाउ थाप्नेमा हुन्छन् ।

तेस्रो, जनताको एउटा असन्तुष्ट तप्का पनि छ । अहिलेका कतिपय राजनीतिक विसङ्गतिहरूबाट चित्त दुखाइरहेको पनि छ । त्यो निश्चित उद्देश्यले भन्दा पनि आफ्नो असन्तुष्टि कहीँ न कहीँ पोख्न चाहन्छ । त्यसैले ज्ञानेन्द्रको स्वागत गर्न पुगेका मानिसलाई हेरेर धेरै तरङ्गित हुनुपर्ने जरुरी छैन । यस्तो भिडले राजनीतिक परिवर्तन ल्याउँदैन ।

बरु जनताको असन्तुष्टि बढ्दै जाँदा अराजकता मौलाउन सक्छ । राज्यसंयन्त्र निकम्मा बन्न सक्छन् । नेताहरुको उठिवास लाग्न सक्छ । अर्को बेग्लै अराजकताले यहाँको शासन कब्जा गर्न सक्छ । तर लोप भइसकेको राजतन्त्र फर्केर आउन सक्दैन । त्यसैले यस्ता प्रदर्शनहरु हिंसात्मक हुन नदिन सरकार चनाखो बन्नुपर्छ । यस्तै कार्यक्रमबाट हौसिएर यदि योजनाबद्ध ढंगले कानुन हातमा लिने, अराजकतातिर लैजाने, संविधानविरोधी गतिविधि गर्ने हुन सक्छ । सरकार त्यसतर्फ सतर्क हुनुपर्छ ।

कमल थापाहरु भेला भएर राजतन्त्र आउने भए त पञ्चायतकालदेखि ०६३ सम्म तिनै थिए राजाका वरिपरि । शासन सत्तामा हालीमुहाली गर्ने तिनै थिए । तिनीहरुले किन जोगाएनन् राजतन्त्र ? राजाको नाम लिएर तिनीहरू निजी स्वार्थमा लीन भएकै कारण राजतन्त्र बदनाम भएको होइन र ? जनताका छोराछोरीमाथि गोली दागेका कारण तिनीहरूलाई जनताले लखेटेका होइनन् र ?

(नारायण प्रसाद दाहालले वर्णन मिडियामा लेखेका छन् )