TRENDING

लन्डन दूतावासमा नेपाली सेनाको २६२औँ स्थापना दिवस

 लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ दूतावासमा एक विशेष समारोह आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथी ब्रिटिश सेनापति चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकर, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, लन्डनस्थित मित्र राष्ट्रका सैनिक सहचारीहरू, सरकारी अधिकारीहरू, सैनिक अधिकृतहरू, सञ्चारकर्मी र बेलायतस्थित नेपाली डायस्पोराका सदस्यहरू लगायत झण्डै १५० बढी अतिथिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी नेपालीहरुका अनुसार बेलायती सेनापति दूतावासमा आएको सम्भवतः यो नै पहिलो पटक हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायती सेनापति जनरल सर रोली वाकरले नेपाली र बेलायती सेनाबीचको दिगो सम्बन्धप्रति प्रसन्नता व्यक्त गरेका थिए ।

उनले नेपाली सेनाले देखाएको अटल समर्पण, निष्ठा र व्यावसायिकताको पनि मुक्तकण्ठले प्रशंसा गरे साथै भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्यको प्रतिवद्धता समेत जनाएका छन् ।
सम्बोधनका क्रममा राजदूत घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र दिगो विरासत स्मरण गरे । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनमा नेपाली सेनाको योगदान एव समग्र मानवताको वृहत्तर हितमा सेवा गर्ने प्रतिवद्धतालाई पनि जोड दिए ।

राजदूत घिमिरेले बेलायती सेनामा सेवारत गोर्खाहरूको अनुपम परम्पराबारे उल्लेख गर्दै गोर्खाहरू दुई शताब्दीभन्दा लामो समयदेखि बेलायत र नेपालबीचको चिरस्थायी र सुमधुर सम्बन्धको कडी बनेका बताए ।

राजदूत घिमिरेले नेपाली सेनाको महत्वपूर्ण इतिहास र बेलायती सेनासंगको लामो समयदेखि सम्बन्ध स्मरण गर्दै बेलायत सरकारले नेपाल र नेपाली सेनालाई निरन्तर सहयोग गरेकामा प्रशंसा समेत गरेका थिए ।

यसअघि आफ्नो स्वागत मन्तव्यमा दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले इतिहासका निर्णायक क्षणहरूमा नेपाली सेनाको अटल बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरे । कर्णेल शाहले नेपाली सेना राष्ट्रिय सुरक्षामा कटिवद्ध एक विश्वसनीय संस्था भएको उल्लेख गर्दै विश्व शान्ति स्थापना, वन्यजन्तु संरक्षण, प्राकृतिक प्रकोपहरुमा मानवीय सहायता, विकास निर्माण आदिमा नेपाली सेनाको महत्वपूर्ण योगदानको संक्षिप्त विवरण समेत प्रस्तुत गरेका थिए ।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघमा आवद्ध भएको उल्लेख गर्दै शाहले त्यसयता विश्वका कयौं देशमा शान्ति कायम गर्न सक्रिय रुपमा खटिएको उनको भनाई छ । धेरै शान्ति सेना पठाउने देशमा नेपाल विश्वकै पहिलो रहेको र यदि संयुक्त राष्ट्रसंघबाट अनुरोध भए थप १० हजार सेना मिसनमा जान तयार रहेको पनि कर्णेल शाहले बताए ।

स्वागत समारोहमा नेपाली सेनाको उल्लेखनीय उपलब्धि एवं गतिविधि झल्काउने मनमोहक भिडियो क्लिप समेत प्रदर्शन गरिएको थियो ।

(नेपाली लिंकबाट लिइएको)