TRENDING

मनकामना केबलकार ५० दिन बन्द

चितवन। नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनु भयो ।

उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गते देखि भदौ २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केबलकारले एक महिना अगाडी नै सूचना निकालेर यात्रुलाई अवगत गराएको हो ।

२०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।