

काठमाण्डौ । सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु गर्दैछ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि आउँदो चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अभियानमा ५७ लाख ४२ हजार ९९३ जनालाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । तराईका २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई र बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०७९ सालको मङ्सिर ३ गतेदेखि गएको पुस १५ सम्मको तथ्याङ्क अनुसार नेपालमा एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको ज्यानसमेत गएको थियो । नेपालमा बितेको ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ ।
सरकारले सन् २०१९ मै दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो । सन् २०२३ को लक्ष्यसमेत नभएपछि पुनः सन् २०२६ सम्ममा निवारण गर्ने अर्को लक्ष्य सरकारले निर्धारण गरेको छ ।
यसअघि कोरोना महामारीको बेला धेरैले नियमित खोप नलगाएका कारण विभिन्न ठाउँमा दादुरा–रुवेला फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले नियमित खोप अन्तर्गत हरेक बालबालिकालाई नौ महिना र १५ महिनामा दादुरा–रुवेला विरुद्धको खोप लगाउँदै आएको छ ।
त्यसरी नियमित खोप अन्तर्गत दादुरा–रुवेला विरुद्धको दुवै मात्रा खोप लगाएका बालबालिकाले पनि अभियानमा खोप लगाउनु पर्ने स्वास्थ्य विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताउनुभयो ।दादुरा–रुवेलाको खोपको पहिलो मात्राले ८५ प्रतिशत, दुई मात्राले झण्डै ९५ प्रतिशत र तीन मात्राले शतप्रतिशतकै हाराहारीमा सुरक्षा प्रदान गर्ने भएकोले अभियानमा खोप लगाउन डा गौतमको सुझाव छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७