TRENDING

नेपालका दुई सफल प्रशिक्षक आमनेसामने हुँदै

काठमाण्डौ । नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । आज हुने पहिलो खेल कीर्तिपुुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले यसअघि नै रोहित पौडेलको कप्तानीमा नयाँ खेलाडी समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगिताको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ । यो खेल एक्सन स्पोर्ट्स एचडी र डिसहोम गोमा प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभयो ।

यसैबीच नेपाली टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेको प्रशिक्षणमा रहेको क्यानडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ । क्यानडाले आईसीसी टी–२० विश्व कप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ ।

प्रशिक्षक मोन्टी देसाई र प्रशिक्षक पुबुदु दशानायके दुवै जनालाई नेपालको सफल प्रशिक्षक मानिन्छ । त्यसैले क्यानडासँगको शृङ्खला दुई सफल प्रशिक्षकबीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औँ प्रतिस्पर्धी हो ।