TRENDING

दोस्रो टेस्टमा भारतले इङ्ल्यान्डलाई १ सय ६ रनले हरायो

काठमाण्डौ । दोस्रो टेस्ट क्रिकेटमा भारतले इङ्ल्यान्डलाई १ सय ६ रनको फराकिलो अन्तरले हराएको छ ।

विशाखापटनमा जितका लागि ३ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिनको चिया समयअघि २ सय ९२ रन बनाउँदा अल आउट भयो । इङ्ल्यान्डका ज्याक क्रलीले ७३ रन बनाए । भारतका जसप्रित बुमराह र रविचन्द्रन अश्विनले समान ३ विकेट लिए ।

दोस्रो इनिङ्समा भारत २ सय ५५ रनमा अल आउट भएको थियो । भारतका शुभमन गिलले शतक बनाए । इङ्ल्यान्डका टस हार्टलीले ४ र रेहान अहमदले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३ सय ९६ रन बनाएको थियो । भारतका यशस्वी जयसवालले दोहोरो शतक बनाए । इङ्ल्यान्डका जेम्स एन्डरसन, सोएब बशिर र रेहान अहमदले समान ३ विकेट लिए ।

इङ्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५३ रनमा समेटिन पुग्यो । इङ्ल्यान्डका ज्याक क्रलीले ७६ रन बनाए । भारतका जसप्रीत बुमराहले ६ विकेट लिए ।

यो जितसँगै भारतले ५ खेलको शृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल इङ्ल्यान्डले २८ रनले जितेको थियो । तेस्रो टेस्ट क्रिकेट फेब्रुअरी १५ देखि राजकोटमा शुरु हुनेछ ।