TRENDING

नेपाल भारतसँग फराकिलो अन्तरले पराजित

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।
नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरेका थिए ।

नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए ।

नेपाललाई ओपनर अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि १३।२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए । राज लिम्बानीको बल पुलसट खेल्ने चक्करमा एज लागेर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । उनले ४२ बल ३ चौका हानेका थिए ।

त्यसपछि मैदान आएका उत्तम थापा मगर ३० बलमा १ चौकासहित ८ रनमा क्याच आउट भए । त्यो समय नेपाल २१।५ ओभरमा ६५–२ को अवस्थामा थियो ।

एक समय नेपाल २३ ओभरमा ७१–२ को अवस्थामा थियो । स्पिनर सौम्य पाण्डेको लेन्थको बल मिस गर्दा अर्जुन कुमाल बोल्ड आउट भए । अर्जुन आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो ।

विशाल विक्रम केसी र गुलशन झा १–१ तथा दीपक डुम्रे र दीपेश कँडेल खाता खोल्न नसक्दा नेपाल २७।५ ओभरमा ७७–७ को दयनीय अवस्थामा पुगेको थियो । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।

भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए ।

एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ओपनर आदर्श सिंह २१, आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए ।