TRENDING

आज १९ वर्षमुनिको टोलीले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटअघिको अभ्यास खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले पहिलो औपचारिक अभ्यास खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्यान्डबीचको अभ्यास खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ ।

आज नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबीच पनि अभ्यास खेल हुनेछ । यसअघि नेपालले सोमवार स्कटल्यान्ड र बिहीवार नामिबियासँग खेलेको अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

आईसीसीले विश्व कपअघि हरेक टोलीलाई दुई–दुई वटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । १९ वर्षमुनिको विश्व कप आउँदो माघ ५ गतेदेखि शुरु हुनेछ ।

यो विश्व कपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।