TRENDING

मुग्लिन–पोखरा सडक खण्डमा धमाधम कालोपत्रे हुँदै

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा दुईतर्फी कालोपत्रे धमाधम भइरहेको छ । पूर्वी खण्डका प्रमुख श्याम यादवले हालसम्म दुवैतर्फ साढे चार किलोमिटर सडक कालोपत्रे गरिएको बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिकाको सत्रसत्र क्षेत्र र बन्दीपुर गाउँपालिकाको नाहाला क्षेत्रमा दुईतर्फी कालोपत्रे गरिएको उहाँले जानकारी दिनुभयो । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको बताउनुभयो ।

पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कलभर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम भइरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइने छ । त्यसका लागि २२ करोड ४५ लाख रुपियाँ मुआब्जा वितरण गरिने छ ।

पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । यो खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ ।