

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य बनाउनका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले आजदेखि राजधानीमा आयोजना गरेको दुई दिने ‘चौथो जिम्मेवार व्यवसाय सम्मेलन’को उद्घाटन गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न आर्थिक कार्यक्रम अगाडि सारेको बताउनुभयो ।
संयुक्त अरब इमिरेट्स (युएई)मा हालै आयोजित ‘बिजनेस समिट’ मा आफूले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई व्यावसायिकरुपमा सफल बनाउन व्यवसायी र समाजलगायत सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । “जिम्मेवार व्यावसायिक अभ्यास नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छ, जिम्मेवार अभ्यासहरूमार्फत व्यवसायले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन्”, उहाँले भन्नुभयो । मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको जनाउँदै प्रधानमन्त्री दाहालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगका लागि आग्रह गर्नुभयो ।
अर्थतन्त्रका क्षेत्रमा देखिएको विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न आफूले लगातार प्रयास गर्दै आएको जानकारी दिँदै उहाँले अर्थतन्त्रमा सुधार ल्याउन केही दिन पहिला मात्र सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञसँग बृहत् अन्तरक्रिया गरिएको बताउनुभयो । “अन्तर्क्रियापछि केही महत्वपूर्ण घोषणासमेत गरिएको छ, मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गए पनि आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेको बताउनुभयो । “त्यसकारण अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु”, उहाँले भन्नुभयो, “यहाँहरूको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्वयनमा जिम्मेवारी बोध एवं तत्परता रहनेछ भन्ने विश्वास लिएको छु ।”
शासकीय सुधारका विषयमा केन्द्रित रहेर बुधबार सरकारका बहालवाला र पूर्वराष्ट्रसेवक कर्मचारीको बृहत् गोष्ठीको आयोजना गरिएको जानकारी दिँदै उहाँले त्यसबाट महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको बताउनुभयो । शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकिएको अवस्थामा त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने उहाँको विश्वास छ ।
प्रधानमन्त्री दाहालले सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञले प्रस्तुत गर्ने कार्यपत्र र छलफलबाट उद्यमी व्यवसायी, सरोकारवाला सहभागी सबै लाभान्वित हुनुका साथै प्राप्त सुझाव तथा छलफलले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो । कार्यक्रमले सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ उहाँको विश्वास छ । उहाँले सम्मेलन मुलुकको अर्थतन्त्रसामु देखिएको दबाब सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता र लक्ष्य प्राप्तिमा सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । एनबिआइका अध्यक्ष कुशकुमार जोशीले जिम्मेवार व्यवसायका लागि राज्य, व्यवसायी र सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
‘व्यावसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय’ भन्ने मूल नारा रहेको सो कार्यक्रममा समाज, वातावरण र अर्थतन्त्रजस्ता विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र प्रयासमा बृहत् छलफल हुनेछ । पहिलो दिन आधुनिक दासता र मानव बेचबिखन, नवीकरणीय ऊर्जा, नवप्रवर्तन र उद्यमशीलता, व्यावसायिक आचरण र सामाजिक उत्तरदायित्व, डिजिटल अर्थतन्त्र शीर्षकमा छलफल हुनेछ । यस्तै दोस्रो दिन विपद् जोखिम न्यूनीकरण र व्यावसायिक योजना, व्यवसाय र मानवअधिकार, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा व्यवसाय मैत्री वातावरण विषयमा सामूहिक छलफल हुनेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७