TRENDING

भेडाच्याङ्ग्रा दशैंका लागि ल्याएका तिहारमा पनि बिकेनन्

ढोरपाटन । कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याए । तर सबै बिक्री हुनसकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।

दशैं सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किए । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आएका छन् । दशैंका लागि ल्याएका च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उनी साह्रै तनावमा देखिन्छन् । दशैंको भन्दा अहिले च्याङ्ग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ । पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दशैंमा सबै बिक्री भएका गुरुङ बताउँछन् ।

‘यसपाली सोचे अनुसार व्यापार भएन’, उनले भने । वर्षौँदखि भेडाच्याङ्ग्रा खरिद बिक्री गर्दै आउनुभएका गुरुङलाई यसपाली आर्थिक मन्दिका कारण ठूलो समस्या भएको छ । तिहारको दिनसम्म सबै च्याङ्ग्रा सक्ने योजनामा उनी भन्छन् । कम मूल्यमा दिन थालेपछि दशैंका तुलनामा यस बेला बढी बिक्री भएका छन् । अझै पनि उहाँसँग करिब डेढ सय च्याङ्ग्रा साथमै छन् ।