TRENDING

संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा सांसद बिजुला रायमाझीले नेपालमा उत्पादन हुने दूध, दूधजन्य पदार्थ र माछामा आत्मनिर्भर हुँदै भारतीय आयातलाई रोक्न तथा नेपाली उत्पादनलाई प्रवर्धन गर्न माग गर्नुभयो । उहाँले नेपाली किसानले उत्पादन गरेको दूध, माछालगायत वस्तुको उचित मूल्य निर्धारण गर्न र उखु किसानको समस्या समाधान गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सडक सुरक्षा परिषद् गठन गर्न माग
सांसद विद्या भट्टराईले सडक दुर्घटना नियन्त्रणका लागि छुट्टै नियमनकारी निकायका रुपमा सडक सुरक्षा परिषद् निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्वमा अकाल मृत्युको आठ कारणमध्ये नेपालमा पहिलो कारण सडक दुर्घटना बनेको छ भन्दै यस्ता दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन योजना ल्याउन माग गर्नुभयो ।

नेपालमा आव २०७९र८०को तथ्याङ्कअनुसार दुई हजार तीन सय २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको र २८ हजार एक सय ५६ घाइते भएका छन् । असुरक्षित मापदण्डविहीन सडक, सवारीसाधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरवाहीका कारण दुर्घटनाबाट नागरिकका जीवन क्षति हुनु एक नियति नै बनेको सांसद भट्टराईको भनाइ थियो ।

सांसद विनीताकुमारी सिंहले माइतीघर मण्डलामा आरती साहको न्यायको लागि सङ्घर्षरतहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुशीला थिङ्ले आरती साहको मृत्यु प्रकरण पेचिलो बन्दै गएको र मृतकका परिवारले न्याय पाउनुभन्दा उल्टै अन्यायमा परेकाले उक्त घटनाका सम्बन्धमा तत्काल छानबिन समिति गठन गर्न जोड दिनुभयोे । सांसद बीना लामाले नजिकिएको तिहारमा चिनीको अभाव हुन नदिन र सुपथ मूल्यमा जनतालाई चिनी उपलब्ध गराउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।