TRENDING

साउदी अरेबियाले २०३४ को फिफा विश्वकप आयोजना गर्ने पक्का

एजेन्सी । सन् २०३४ को पुरुष विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियाले गर्ने पक्का भएको छ । अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न प्रस्ताव नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले २०३४ को पुरुष विश्वकप फुटबल आयोजना गर्ने पक्का भएको बीबीसीले जनाएको छ ।

आयोजकको दाबी पेस गर्ने समय चार घण्टाभन्दा कम रहेको अवस्थामा फुटबल अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव नगर्ने निर्णय गरेको हो । अब सन् २०३४ को विश्वकप आयोजकको दाबी गर्ने साउदी अरेबिया मात्रै एक्लो देश बनेको छ ।

अस्ट्रेलियाको प्रशासकीय निकायले सन् २०२६ मा एएफसी महिला एसियन कप र २०२९ मा क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ । सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकपको आयोजना गर्नेछन् जसमा केही खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछ ।