TRENDING

प्याजको भाउ ह्वात्तै बढ्यो, हरियो तरकारीको भाउ भने घट्यो

काठमाण्डौ । प्याजको भाउ फेरि बढ्न थालेको छ । यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ ।

भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ ।

नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था छ । यसले गर्दा भारतमा भाउ बढ्नासाथ नेपाली बजारमा पनि महँगो हुन्छ । भाउ बढेपछि भारतबाट अहिले नेपाली बजारमा खासै प्याज भित्रिएको छैन । प्याजको आयात कम भएसँगै कृत्रिम अभाव समेत हुन थालेको छ ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको भाउ लगातार बढिरहेको जनाएको छ । समितिले काठमाण्डौमा आज प्याजको थोक मूल्य किलोमा ११५ देखि १२० रुपैयाँ निर्धारण गरेको छ । खुद्रा पसलमा योभन्दा महँगो पर्छ । बजारमा हरियो तरकारीको भाउ भने घट्दो छ ।

बजारमा साग, सिमी र लाम्चो भन्टा सबैभन्दा सस्तो छ । यी तरकारी किलोको १० देखि १५ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।