TRENDING

चाडबाडमै किन महँगिन्छ बजार

काठमाडौँ । २०७७ असोजमा रहर दालको मूल्य प्रतिकिलो १ सय ६० रुपैयाँ थियो । ०७८ असोजमा १० रुपैयाँ बढेर १ सय ७० पुग्यो । ०७९ असोजमा थप १५ रुपैयाँ बढेर १ सय ८५ र ०८० असोजमा २ सय ३० पुग्यो । ०७७ असोजमा प्रतिलिटर ९ सय रुपैयाँ रहेको नेपाली घिउ ०७९ असोजमा १२ सय पुग्यो । ०८० असोजसम्म आइपुग्दा
१३ सय ५० पुगेको छ ।

जिरा पाउडर पनि ०७७ असोजमा प्रतिकिलो ४ सय ५० रुपैयाँ थियो । ०८० असोजसम्म आइपुग्दा मूल्य अचाक्ली बढेर १३ सय पुगेको छ । चिनी त बजारमा पाइनै छाडेको छ । ०७७ असोजमा प्रतिकिलो ८५ रुपैयाँमा बिक्री भएको चिनी ०८० असोजसम्म आइपुग्दा पाउनै कठिन छ । चिनी पाइने पसलमा पनि किलोकै १ सय ५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।
०७७ असोजमा सानो केराउको मूल्य किलोकै १ सय ४० रुपैयाँ थियो । ०८० असोजमा बढेर २ सय २५ पुगेको छ । चामल पिठो, त्रिशूली, बासमती चामलको अवस्था पनि उस्तै छ । ०७७ असोजमा प्रतिकिलो ६५ रुपैयाँ पर्ने चामलको पिठोको मूल्य बढेर १ सय ६५ रुपैयाँ पुगेको छ ।

यी त केही उदाहरण मात्र हुन् । अन्य महिना सामान्य अवस्थामै रहने विभिन्न वस्तुको मूल्य चाडबाडकै बेला किन अकासिन्छ रु जानकार भन्छन्— यसको एउटै प्रमुख कारक हो बिचौलियाको मनोमानी । त्यसमाथि नियमनकारी निकायले आफ्नो भूमिका पूर्ण रूपमा पालना नगर्दा चाडबाडमा महँगी चुलिएको हो ।

‘तस्करी, कालोबजारी, बिचौलियाले चलाएको मुलुक हो । अस्वस्थ प्रतिस्पर्धाले बजार अराजक बनेको छ । तर त्यसलाई नियन्त्रण गर्ने कुनै रूपरेखा छैन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘बजारमा मूल्य छोइनसक्नु छ । तर सरकारी अनुगमन संख्या पुर्‍याउनमा मात्रै केन्द्रित छ ।’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा दिनदिनै दर्जनभन्दा बढी व्यावसायिक फर्ममा अनुगमन भइरहेको छ । तर, सर्वसाधारणले त्यसको सकारात्मक अनुभूति गर्न सकेका छैनन् । अहिलेको अनुगमन बिचौलिया दलाल पोस्नलाई मात्रै भएको महर्जनको आरोप छ ।