TRENDING

दसैंका लागि राजमार्ग छिटो सुधार गर्न व्यवसायीको माग

काठमाडौँ । यातायात व्यवसायीले दसैं नजिकिए पनि मुख्य राजमार्गहरू अझै सुधार नभएको भन्दै छिटो काम नसके यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन समस्या हुने बताएका छन् । घटस्थापनाको दिनदेखि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढ्ने भन्दै त्योभन्दा पहिल्यै सडक सुधार गरिसक्नुपर्ने उनीहरूको भनाइ छ ।

अहिले मुख्य रूपमा नारायणगढ–बुटवल र मुग्लिङ–पोखरा सडकमा समस्या छ । नारायणगढ–बुटवल सडकमा बुटवलबाट नारायणगढ पुग्न अघिपछि साढे दुई घण्टा लाग्नेमा अहिले ८ घण्टासम्म लाग्ने गरेको गुनासो यात्रुको छ ।
चाडबाडमा सवारी ओहोरदोहोर बढी हुने हुँदा उक्त राजमार्गमा ट्राफिक जामको समस्या बढ्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान समयमै जान जरुरी रहेको यात्रुहरूको सुझाव छ ।

व्यवसायीहरूका अनुसार बीपी राजमार्गको भकुन्डेबेंसीबाट बर्दिबाससम्म खाल्डाखुल्डीको समस्या सुरु हुने र त्यहाँ सडक सुधारको काम सुस्त रहेको छ । दसैं आउन महिना दिन अघिबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई सडका समस्याबारे अवगत गराउँदा पनि अहिलेसम्म सुधारको काम नसकिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘पूर्व जाने गाडीहरूका लागि पनि सडक सुधार भइसकेको छैन,’ उनले भने, ‘अझ बढी सडकको समस्या पश्चिम जाने सवारीका लागि छ ।’

उनले चाडबाडका बेला संघ, प्रदेश र स्थानीय तहसहित तीन वटै सरकार मिलेर सडक सुधार गर्नुपर्ने बताए । अहिले नारायणगढ–बुटवल सडकको कावासोती, चोरमारा र दाउन्ने खण्डमा बढी समस्या भएको भन्दै तत्काल सुधार गर्नुपर्ने उनको भनाइ छ । यो खण्डमा खाल्डाखुल्डी बढी छ ।

त्यस्तै पोखरा–मुग्लिङ सडकअन्तर्गत कोत्रेबाट २१ किलोमिटर काठमाडौंतर्फको सडकमा समस्या रहेकाले सुधार्न माग गरिएको छ । ‘यस विषयमा यातायात व्यवस्था विभागमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र विभागका कर्मचारी बसेर छलफल भएको छ,’ उनले भने, ‘सडक सुधार नभए यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सक्ने अवस्था छैन ।’