TRENDING

पर्यटक कुरिरहेको बेगनास ताल

गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे ।

‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै , पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।’ शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए ।

बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । ‘भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन”, पाण्डेले सुनाए, ‘अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुङ्गा व्यस्त हुन्थे । अहिले त चाररपाँच वटा चल्न पनि धौधौ छ ।’

स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ ।

‘सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ’, डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भने, ‘हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।’ आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उनको भनाइ थियो ।

कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् ।

‘पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ’, उनले भने, ‘डुङ्गा व्यवसाय मात्र नभएर बेगनासको सिङ्गो पर्यटन क्षेत्र सुस्ताएको छ ।’

तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताए । उनका अनुसार पोखरा महानगरपालिका(३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ ।

अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड(१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताए ।

‘दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो । अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न’, उनले भने, ‘आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ ।’

शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाए। एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र भएको सुनसान उनको भनाइ थियो ।

भ्यूटावर चढ्दा विद्यार्थीलाई रु २०, अन्यलाई रु ३० र विदशीलाई रु ५० को टिकट लाग्ने भुजेलले जानकारी दिए । टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उनले बताए ।

‘पर्यटक आउन छाडेपछि तलब खान पनि धौ(धौ परिरहेको छ । अरु संस्था धान्ने त झन् टाढाको कुरा भयो’, भुजेलले भने, ‘कोभिड(१९ को बन्दाबन्दीपछि पर्यटक आउने क्रम घटेको घटै भयो । मुख्य पर्यटकीय याममा पनि बेगनास क्षेत्र सुनसान छ ।’

आन्तरिक पर्यटक पनि आउन छोडेपछि बेगनासको पर्यटनलाई लिएर चिन्ता थपिएको उनले उल्लेख गरे ।

पोखरा महानगरपालिका –३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पोखरा सहर छेउमै भएर पनि बेगनास क्षेत्र ओझेलमा परेको बताए । ‘पर्यटन पूर्वाधार र प्रवद्र्धनका दृष्टिले बेगनास अझै पनि पछाडि छ’, उनले भने, ‘त्यसमाथि अहिलेको आर्थिक मन्दी, कमसल सडक तथा पूर्वाधारलगायत कारणले यहाँ पर्यटकीय चहलपहल कम भएको छ ।’