TRENDING

चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस

काठमाण्डौ । बझाङका वसन्तराज जोशी दशैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रूपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र रु तर दशैँको मुखमा एअरलाइन्सको टिकट पाउन मुस्किल छ ।

केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गएको वर्षको दशैँमा १७ हजार छ सय रुपैयाँ हवाई भाडा तिरेर काठमाण्डौदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महँगोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ ।

‘अघिल्लो वर्ष महँगो टिकट खरिद गरेर दशैँमा घर गइएको थियो, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दशैँको सङ्घारमा अब झन् टिकट पाउन सास्ती हुन्छ’, जोशीले भन्नुभयो । महँगो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ । दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ ।