TRENDING

आन्दोलनरत डाक्टरहरु काममा फर्किए, नियमित सेवा सञ्चालन

काठमाण्डौ । सरकार र आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएपछि आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । डाक्टर र स्वास्थ्यकर्मी काममा फर्किएका छन् ।

हिजो गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी पोखराको मणिपाललगायत स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने, त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाउने, डाक्टर तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्नेलाई ऐनअनुसार कारबाही चलाउनेलगायत सहमति भएको छ ।

डाक्टरहरुको आन्दोलनका कारण गएको मङ्गलवारदेखि अस्पतालमा उपचार सेवा प्रभावित हुँदै आएको थियो । उपचारका लागि अस्पताल पुगेका बिरामी मर्कामा परेका थिए । काठमाण्डौका ठूला अस्पताल त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरीका धेरैजसो सरकारी अस्पतालमा सेवा प्रभावित बनेको थियो ।