TRENDING

एमाले वाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौँ । एमाले वाग्मती प्रदेश अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन् । उनी कृष्ण दाहाललाई हराउँदै प्रदेश अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत प्राप्त गरे । त्यस्तै दाहालले ४३९ मत प्राप्त गरे ।

पहिलो प्रदेश अधिवेशनमा सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्य चयनको पहल भए पनि अन्तिममा शुक्रबार निर्वाचन भएको थियो । मतदानमा ११ सय ३५ मत खसेको थियो ।
अध्यक्षमा निर्वाचित ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंर पोखरेलनिकट मानिन्छन् । त्यस्तै उपाध्यक्षमा ढुंगेल समूहकै दावा दोर्जे लामा विजयी भए । उनले ६१५ मत प्राप्त गर‍े । उपाध्यक्षको प्रतिस्पर्धामा ईश्वरचन्द्र पोखरेल, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरीसमेत थिए ।

त्यस्तै प्रदेश सचिवमा नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका नवराज सिलवाल विजयी भएका छन् । सिलवाल १ मतको अन्तरले प्रदेश सचिवमा विजयी भएका हुन् । सिलवालले ५६८ मत ल्याउँदा सचिवकै अर्का प्रत्याशी हस्त पण्डितले भने ५६७ मत प्राप्त गरेका छन् । त्यस्तै खुला उपसचिवकमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन् ।