TRENDING

मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर बन्नु पर्छ : अध्यक्ष नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, अहिलेको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकारात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे ।

सञ्चालन गर्न लागेको कार्यक्रम जनताको बीचमा पार्टीको विचार र धारणाहरू पुर्‍याउने उद्देश्यले गर्न लागेको बताए । ‘अहिले सञ्चालन गर्न लागेको कार्यक्रम हाम्रो पार्टीले आफ्नो संगठनको प्रयोग गरेर देश व्यापी रूपमा जनताको बीचमा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो,’ उनले भने, ‘जनताको माझमा आफ्नो विचार र धारणाहरू पुर्‍याउने उद्देश्यले जनतामा एउटा विश्वास सिर्जना गर्ने र पार्टी समस्याहरूको बारेमा सही बुझाई छ र समाधानको पनि प्रस्ट सोच रहेको छ भन्ने धारणा बनाएर अगाडि बढेका छौँ ।’

उनले पार्टीले थालेको अभियानको उद्देश्य सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणकासाथ शोषण, उत्पीडन, अत्याचार जस्ता विकृतिबाट मुक्त समाजलाई सभ्य बनाउनु रहेको पनि बताए । यस्तै, उनले शिक्षा विधेयकको कुरा गर्दै नीतिगत रूपमा यो विषयलाई मिलाएर शिक्षकहरूलाई न्याय प्रदान गर्नुपर्ने बताए ।