TRENDING

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित नेपालगञ्ज विमानस्थलमा पक्राउ परे कर अधिकृत

काठमाडौ । नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा छन्।

नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले जानकारी दिए।

उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।

सापकोटाको साथमा रहेका अर्का कर्मचारी दीपक पौडेल भने भाग्न सफल भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई बताए।

‘विमानस्थल भित्र सुरक्षाकर्मीले चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका अर्का कर्मचारी पौडेल सुटुक्क भाग्न सफल भएको भन्ने छ,’ डिएसपी डाँगीले भने, ‘पक्राउ परेका व्यक्तिलाई अख्तियारको जिम्मा लगाइएको हुँदा थप अनुसन्धान उतैबाट हुने आशा छ।’

मुख्य समाचारबाट थप समाचार