

डा. बानिरा कार्की
स्तनमा कुनै गाँठागुठी आउनु महिलामा हुन सक्ने स्तन क्यान्सरको एउटा सुरुवाती संकेतको रुपमा आशंका गरिन्छ । किनभने स्तन क्यान्सरको एउटा लक्षण स्तनमा गाँठो आउनु पनि हो ।
यद्यपि स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको संकेत नहुन पनि सक्छ । तर गाँठागुठी आएमा सामान्य चेकजाँच भने जरुरी हुन्छ । ताकि क्यान्सर नभए ढुक्क भएर बस्न र क्यान्सर भएमा छिटो पहिचान तथा उपचार भई निको पार्न सकियोस् ।
८० प्रतिशत गाँठागुठी क्यान्सरको संकेत नहुन सक्छन्
स्तनमा गाठाँगुठी आउनु सामान्य हो । यो महिलामा कुनै पनि उमेर समूहमा देखिन सक्छ । गाँठागुठी आउने कारण र त्यसको आकारप्रकार फरक- फरक हुन्छ । स्तनमा देखिने गाँठागुठीमध्ये ८० प्रतिशतमा क्यान्सर हुँदैन । तर २० देखि ३० प्रतिशतमा स्तन क्यान्सर हुन पनि सक्छ ।
आजभोलि वयस्क महिलामा मात्र नभई किशोरीहरुमा पनि तनाव, हार्मोनको गडबडी र जीवनशैलीका कारण स्तनको वरपर प्रायस् गिर्खा देखिइरहेको हुन्छ । जुन महिनावारी हुँदा आकारप्रकार अलि बढ्ने र सकिएपछि घट्ने हुन्छ । यस्ता गिर्खामा क्यान्सर हुँदैन । कहिलेकाहीं स्तनपान नगराउँदा, महिनावारी अनियमित हुँदा स्तनमा सिस्ट पानीको फोका देखिन सक्छ । यो चलाउँदा हल्लिने र नरम खालको हुन्छ । यस्ता सिस्टमा क्यान्सर नहुन पनि सक्छ ।
स्तन क्यान्सर के कारणले हुन्छ भन्ने स्पष्ट कारण छैन । वंशाणुगत, मोटोपन, धुम्रपान, जंकफुड, अवस्थ जीवनशैली, गर्भनिरोधक चक्की लामो समयसम्म खाने, उमेर कटेपछि सन्तान जन्माउने पक्षलाई केही हदसम्म स्तन क्यान्सरमा जिम्मेवार मानिन्छ ।
स्तन क्यान्सरका लक्षण
- स्तन वा काखीमुनि गिर्खा वा डल्लो मासु देखिनु
- स्तनको छालामा सुन्तलाको बाहिरी बोक्राजस्तो रङको हुँदै जानु
- निप्पलभित्रपट्टि छिर्दै जानु
- स्तनको निप्पल निचोर्दा पानी र पिप बग्नु
- रातो घाउ हुनु
- सानो गिर्खा हुँदा नदुख्ने, छिटो बढ्ने र छाम्दा कडा खालको आकारप्रकार हुनु
स्तन क्यान्सरको लक्षण कसरी थाहा पाउने
नियमित रुपमा २० वर्षपारि महिलाले महिनावारी भएको १० दिनपछि महिनामा एकपटक ऐनाअघि उभिएर स्तन र काखीको वरपर गाँठागुठी छ कि छैन हेर्नुपर्छ ।
यससँगै निप्पलमा पनि केही असामान्य परिवर्तन छ भनेर हेर्नुपर्छ । यदि स्तन तथा काखीमा गिर्खा भएको अनुभव भएमा क्यान्सर होस् वा नहोस् चिकित्सकलाई अनिवार्य देखाउनुपर्छ । सुरुमा गाँठागुठी कतिको सामान्य हो भनेर पहिचान गर्न अल्ट्रासाउण्ड गरिन्छ । त्यस्तै ४५ वर्ष काटेका महिलामा अल्ट्रासाउण्ड र मेमोग्राम दुवै गरिन्छ । मेमोग्राम र अल्ट्रासाउण्ड गरेर हेर्दा पनि रिपोर्ट शंकास्पद आएमा बायोप्सी गरिन्छ ।
के यो पूर्णतया निको हुन्छ
स्तन क्यान्सरका चार चरण छन्, जसमध्ये पहिलो र दोस्रो चरणमा छ भने शतप्रतिशत न्यून हुन सक्छ । तर तेस्रो चरणमा जटिल र सम्भावना केही कम हुन्छ । चौथो चरणमा छ भने केही आयु बढाउन सकिन्छ तर पूर्णतया निको पार्न सकिंदैन ।
उपचार
क्यान्सरको उपचारमा शल्यक्रिया, किमोथेरापी, किमो रेडियोथेरापी र हार्मोनल थेरापी गरिन्छ । यी सबै विधि सबैमा लागू हुन्छ भन्ने हुँदैन । क्यान्सरको चरण र क्यान्सरको अवस्था हेरेर कुन उपचार विधि गर्नुपर्छ भनेर निर्धारण गरिन्छ ।
स्तन नै काटेर फाल्नु पर्दैन
पहिले स्तन क्यान्सरबाट जोगिन स्तन नै काटेर फाल्नुपर्ने बाध्यता थियो । तर अहिले नयाँ नयाँ प्रविधि भित्रिएसँगै क्यान्सर हुने बित्तिकै स्तन नै काटेर फाल्नुपर्छ भन्ने छैन । जसकारण स्तन बचाएर नै यस क्यान्सरको उपचार गरिन्छ । क्यान्सरको कोषिका छ त्यहींको सानो भाग मात्र काटेर जस्ताको तस्तै आकार बनाउन सम्भव भइसकेको छ । किमोथेरापीबाट क्यान्सर भएको भागलाई सुकाएर निकाल्न सकिन्छ । स्तन फाल्नुपर्ने अवस्था आए नयाँ स्तन राख्ने विकल्पसमेत हुन्छन् ।
उपचार खर्च
निजी अस्पतालमा स्तन क्यान्सरको उपचार औसतमा चारदेखि पाँच लाख पर्न आउँछ । यद्यपि, सरकारले उपचार खर्च स्वरुप एक लाख रुपैयाँ दिने गर्छ । यसले क्यान्सर भएकाहरुलाई उपचारमा केही हदसम्म सहयोग पुगेको छ ।
डा. कार्की नर्भिक अस्पताल, बी एण्ड बी अस्पताल र नेसनल क्यान्सर अस्पतालमा कन्सल्टेन्ट ब्रेस्ट अंकुसर्जनको रुपमा कार्यरत छिन् । उनीसँग गरेको कुराकानीमा आधारित
शिक्षाबाट थप समाचार
एसईईको सबै तयारी सकियो
स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याइने
नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७