TRENDING

धादिङमा बस दुर्घटना आठ जनाको मृत्यु, १७ घाइते

धादिङ । धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहरामा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौबाट पोखरा हुँदै म्याग्दीको वेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशुली नदीमा खसेको हो । उद्दारमा खटिएका स्थानीयका अनुसार मृत्यु हुनेमा एक बालिकासहित दुई जना महिला छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १७ जना घाइते छन् । १३ जनाको उपचारका लागि काठमाडौं पठाइएको छ । चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ । उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय छन् ।

विपरीत दिशातर्फ बस खसेकोले साघुरो सडकमा ओभर्टेग गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।

मुख्य समाचारबाट थप समाचार