

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो । सडकबाट पाखो हुँदै करिब पाँच सय मिटरमाथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताए।
“छरिएको पानीको स्रोतलाई एकीकृत गरी बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौँ”, उनले भने, “करिब दुई सय मिटर लम्बाइको पहिराको आधा भाग यसरी नै बगाइसकेका छौँ । माटो जति पानीले बगाउने र खस्नेजस्तो देखिने ढुङ्गा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा पहाड भेटिएको छ ।”
भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताए । पानी र डोजर परिचालन गरेर जोखिमयुक्त ढुङ्गामाटो खसालिएको भागबाट पहिरो खस्न रोकिएको छ । पाखोबाट खसाल्ने काम सकिएपछि सडकमा थुप्रिएको ढ्ङ्गामाटो डोजरले पन्छाएर सडकमा यातायात सञ्चालनको तयारी भएको आयोजना प्रमुख प्रजापतिले बताए । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरूपमा व्यवस्थापन गरिने उनले बताए।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७