TRENDING

प्रधानमन्त्री प्रचण्ड आगामी महिना न्यूयोर्क जाँदै, उतैबाट चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना न्यूयोर्क र चीन भ्रमणमा जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने प्रचण्डको तयारी छ ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क र चीन भ्रमणको तयारी सुरु गरिसकेको छ । ‘प्रधानमन्त्रीज्यूको न्यूयोर्क र चीन भ्रमणको तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय नगरिसकेकाले धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’

यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको मिति र चीन भ्रमणको मिति ९सेप्टेम्बर २३० एकैदिन परेपछि प्रधानमन्त्री प्रचण्ड कहाँ जाने भन्ने द्विविधामा थिए । तर संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने मिति संशोधनका लागि राष्ट्रसंघलाई अनुरोध गरेको थियो । सो अनुरोधपछि प्रधानमन्त्री प्रचण्डले महासभालाई सेप्टेम्बर २१ मा सम्बोधन गर्ने गरी मिति संशोधन भएको स्रोतले बतायो ।

महासभामा सम्बोधन अगाडि विभिन्न कार्यक्रमहरुमा सहभागी पनि हुनुपर्ने भएकाले १६ वा १७ सेप्टेम्बरमा काठमाडौंबाट न्यूयोर्क प्रस्थान गर्ने तयारी छ ।

महासभालाई सम्बोधन अघि सेप्टेम्बर १८ र १९ मा दिगो विकास सम्बन्धी सम्मेलनमा पनि सहभागी हुनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड त्यस अगाडि नै न्यूयोर्क प्रस्थान गर्न सक्ने स्रोतले बतायो । न्यूयोर्कमा उनले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुसँग साइडलाइन वार्ता गर्ने गृहकार्य भइरहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट सिधै चीन जाने तयारीमा छन् । चीनमा उनी १९ औं एसियाली खेलकुदमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने छन् ।