TRENDING

खाद्य कम्पनीमा चामल आउनै छाड्यो

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो । यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो ।

रुकुमपश्चिम शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ । ‘बजारको तुलनामा खाद्यमा चामल केही सस्तो पाइन्छ । यहाँबाट किन्दा प्रतिकिलो ३० देखि ४० रूपैयाँसम्म फरक पर्छ,’ शाखा प्रमुख विनोद चन्दले भन्नुभयो, ‘अहिले खाद्यमा भनेजति चामल छैन । स्टिम जिरा मात्रै मौज्दात छ ।’

चन्दका अनुसार अहिले गोदाममा पाँच सय ३५ क्विन्टल चामल मौज्दात छ । ‘गत आर्थिक वर्ष २०७९र८० मा कम्पनीमा ३६ हजार ९४ क्विन्टल ६५ केजी आएको थियो, त्यही चामल अहिले पनि मौज्दात छ,’ उहाँले भन्नुभयो ।

चालु आवमा पनि नेपालगञ्ज र तुलसीपुरबाट चामल ल्याउने तयारी भइरहेको शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । ‘पहिलाका वर्ष तुलसीपुरबाट मात्रै ढुवानी हुने गरेकामा यस वर्ष नेपालगञ्जबाट पनि आउने भएको छ,’ उहाँले भन्नुभयो, ‘जिल्लामा १५ हजार क्विन्टल कोटा भए पनि कोटा थप हुनसक्छ ।’ सोना मन्सुली, अरुवा मोटो र बास्मती कम्पनीको शाखामा नआएको बताउँदै चन्दले यहाँबाट त्यो चामल बेच्न छोडिएको जानकारी दिनुभयो ।

त्यस्तै बिक्री केन्द्र स्यालाखदीमा बर्खामा चामल पठाउन नसकिएको जिल्ला शाखाले जनाएको छ । गत आवमा नौ सय ९९ क्विन्टल चामल पुगेकामा यस अवका लागि एक हजार कोटाको ठेक्का आह्वान भएको शाखा प्रमुख चन्दले बताउनुभयो । भारतबाट हुने चामल निर्यात बन्द गरेकाले यस वर्ष कति चामल आउने हो भन्न नसकिने उहाँको भनाइ थियो ।

मुख्य समाचारबाट थप समाचार