TRENDING

सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा ः संसद् बैठक प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् ।

सत्तापक्षले राज्यका सम्बन्धित निकायबाट हुने छानबिनमा सघाउन र यसको प्रतिवेदन आउने समयसम्म धैर्य गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लाई आग्रह गरे पनि एमालेले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर मात्रै अनुसन्धान गहिराइमा पुग्ने भएकाले आफू त्यस अडानबाट पछि नहट्ने जनाउँदै आएको छ ।

सदनको जारी गतिरोध र संसदीय समितिका सभापतिको चयनलगायतका विषयमा छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा यही साउन २२ गते दुई पटक र साउन २३ गते एकपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक भए पनि ती बैठक खासै फलदायी हुन सकेनन् । यसअघि दुई पटक सदनका बैठक सूचना टाँसेर स्थगन भइसकेको थियो ।