TRENDING

प्रधानमन्त्रीको चीन भ्रमण : यस्ता छन् वैदेशिक व्यापारका एजेन्डा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली खेलकुद प्रतियोगिताको मौका पारेर चीन भ्रमणको तयारीमा छन् । प्रधानमन्त्रीको चीन भ्रमणको मिति नतोकिए पनि उच्चस्तरीय चीन भ्रमणको तयारीसँगै विभागीय मन्त्रालयहरूले आफ्नो तयारी अघि बढाएका छन् ।
चीन नेपालको भारतपछिको सबैभन्दा ठुलो वैदेशिक व्यापार साझेदार हो । भन्सार विभागको गत आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार चीनसँग २ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

यो भारतसँगको कुल वैदेशिक व्यापार १२ खर्ब पछिको सबैभन्दा धेरै हो । प्रधानमन्त्री प्रचण्डको भ्रमण सम्पन्न भएमा वैदेशिक व्यापार, व्यापारिक नाका, सडक पूर्वाधार सुधार लगायतका विषयलाई छलफलमा राख्ने तयारी अघि बढेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको चीनसँगको वैदेशिक व्यापार हेर्ने शाखामा यसबारे छलफल भइरहेको जनाइएको छ । मन्त्रालयमा चीन र भारत हेर्न छुट्टाछुट्टै शाखा राखिएको छ ।

हालसम्म प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले वाणिज्यसम्बन्धी एजेन्डा नमागे पनि आगामी दिनमा यसबारे एजेन्डा माग हुनेछन् । ‘सोही कारण, चीन भ्रमणका क्रममा के–कस्ता एजेन्डा उठान गर्ने भन्ने विषयमा प्रारम्भिक चरणमा छलफल भइरहेको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘अहिले सुरुवाती चरणमा छलफल भइरहेको छ । यो छलफल ठोस बनिसकेको छैन ।’