TRENDING

उपत्यकामा बर्सेनि डुबान, छैन रोकथाम

काठमाडौँ । सोमबार रातिदेखि परेको लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीमा जल सतहले खतराको तह नाघ्दा तटीय क्षेत्रहरू डुबानमा परेका छन् । मंगलबार वाग्मती, मनोहरा, धोबीखोला, विष्णुमतीलगायत नदीले खतराको तह पार गर्दा उपत्यकाका विभिन्न स्थान डुबानमा परेका हुन् ।

आसपासका क्षेत्रमा भारी वर्षा हुँदा उपत्यका हुँदै बग्ने खोलाको जलस्तर उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘सोमबारदेखि नै धादिङ, बूढानीलकण्ठ, नुवाकोट आसपासका क्षेत्रमा एकै पटक वर्षा हुँदा जमिन धेरै नै स्याचुरेटेड भइसकेको थियो,’ विभागका सिनियर हाइड्रोलोजिस्ट सुनील पोखरेलले भने, ‘जसले गर्दा पानी जमिनको सतहमुनि पुग्नै पाएन ।’

हरेक वर्षजसो काठमाडौंलगायत सहरी क्षेत्र वर्षायाममा डुबानमा पर्ने गरेका छन् । एक घण्टासम्म लगातार वर्षा हुँदासमेत काठमाडौंका केही क्षेत्र जलमग्न हुने गर्छन् । यस्तै पानी बहने र सार्वजनिक कुलोरपैनीहरूको नियमित मर्मत तथा सरसफाइ नहुँदा पानीको निकास रोकिने गरेको छ । एक घण्टामा ३० मिलिमिटर वर्षा हुँदा काठमाडौं जलमग्न हुने गरेको छ । जबकि, अन्य क्षेत्रमा एक घण्टामा ६० एमएम वर्षा हुँदा मात्र जलमग्न हुन्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सोमबार दिउँसो ३ बजेदेखि मंगलबार अपराह्नसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा भारी वर्षा हुँदा जल सतहले खतराको तह नाघेको हो । वर्षाको पानीको सहज निकास नहुँदा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।

मुख्य समाचारबाट थप समाचार