TRENDING

नागढुंगा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ रेस्क्यु टर्नेल छिचोलियो

काठमाडौ । नागढुंगा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ रेस्क्यु टर्नेल छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपतकालिन टर्नेलको सोमबार ब्रेक थ्रु गरिएको हो ।

नागढुंगा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री नन्दा चपाइ, नेपालका लागि जापानी राजदुत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रु गरिएको हो ।

सडक बिभागका महानिर्देशक सुशील कुमार ढकाल, मन्त्रालयका सचिव केशव कुमार शर्मा, धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, प्रतिनिधिसभाका सदस्यहरु पनि ब्रेक थ्रुका लागि सुरुङभित्रै पुगेका थिए ।

मुख्य सुरुङ छिचोल्न बाँकी नै भएपनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ काठमाडौ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेश प्रसाद कोइरालाले जानकारी दिए ।

साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको टर्नेलमा सात वटा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सात वटा गेट राखिएको छ ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ। सोमबारसम्म २१ सय ८६ मिटर खन्ने काम सकिएको छ। मुख्य सुरुङ खन्न अब ५ सय २ मिटर बाँकी छ। आगामी मंसिरसम्ममा मुख्य टर्नेल पनि वारपार छिचोल्ने गरी काम भइरहेको कन्सल्टेन्सी इन्जिनियर कोइरालाले जानकारी दिए ।

मुख्य समाचारबाट थप समाचार