TRENDING

सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न हुँदैन ः केपी ओली

काठमाडौ । नेकपा एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनु भएको छ ।

नेकपा एमाले को परराष्ट्र मामिला विभागले काठमाण्डौमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा एमाले को धारणा’ कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि कुनै सम्झौता वा कुनै जानकारी नदिइकन एकतर्फीरुपमा आफ्नो सेना ल्याएर राखेको उल्लेख गर्दै नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनु भएको हो । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ईपीजी को प्रतिवेदन आफैँले बुझ्ने तयारीका क्रममा सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ईपीजी प्रतिवेदन नबुझ्ने भन्ने थिएन, तर मिति मात्रै तोकिएको थिएन, पछि मैले बीचमै सरकार छाड्नुपर्यो ।

ईपीजी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएको उहाँको आरोप छ । अध्यक्ष ओलीले भन्नुभयो, हाम्रो देश कुनै पनि सैनिक गुटमा सामेल हुँदैन, सैनिक गुटमा प्रत्यक्ष वा परोक्ष कुनै पनि हिसाबले हामी सामेल हुँदैनौँ, हाम्रो भूमिमा कुनै पनि बाह्य सैनिक आउँदैन, हाम्रो भूमिमा कुनै पनि देशको सैनिक स्थापित हुन दिँदैनौँ ।