TRENDING

विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई आयोगले कारबाहीको तयारी

काठमाडौँ । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५र१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ । साथै सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।

आयोगले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको हो । यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ । हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेहरूको सूचीमा छ ।