TRENDING

प्रतिनिधि र प्रदेशसभाका करिब २५ सय उम्मेदवारलाई कारबाही हुने

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजनिक नगर्नेमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका र एक हजार ३९७ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।

कानुनबमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपियाँ जरिबाना तिर्नुपर्ने छ । तर त्यसका लागि आयोगले निर्णय गर्नुपर्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यतर्फ पाँच हजार ५६१ उम्मेदवारले खर्च विवरण पेस गरेकामा दुई हजार ४४० जनाले सो विवरण सार्वजनिक नगरेको जानकारी दिनुभयो । उक्त सङ्ख्या पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारको हो । खर्च विवरण सार्वजनिक नगर्नेमा मधेश प्रदेशका उम्मेदवारको सङ्ख्या सबैभन्दा बढी छ ।