TRENDING

आफ्नो –आफ्नो पसल थापेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताउनुभएको छ ।

आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताउनुभयो । उहाँले कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताउनुभयो । अध्यक्ष नेपालले कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो । सबै कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुद पनि हामीले हरेक खानुहुँदैन । उहाँको सङ्कल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ ।