TRENDING

प्रधानमन्त्री प्रचण्डद्धारा बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन

धादिङ । गोरखाको गण्डकी गाउँपालिकाको सिउरेनीटारमा बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरिएको छ ।
आज बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका हुन् । प्रचण्डले यसअघी बुढी गण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ रहेको सिउरेनीटार स्थित् कार्यालयको उद्घाटन गरेका हुन् ।

जलाशययुक्त आयोजना भएकाले बर्खामा बिजुलीको उत्पादन खेर जाने र हिउँदमा अभाव हुने परिस्थिति यो आयोजना बनेपछि समाधान हुने प्रधानमन्त्रीले बताउनुभयो । स्वदेशमा खपत बढाएसँगै भारत र बङ्गलादेशमा बिजुली बिक्री गरिने प्रचण्डले बताउनुभयो ।

कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बुढी गण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ । अहिलेको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत दुई अर्ब ७७ करोड डलर रहेको छ । आयोजनाको निर्माण अवधि आठ वर्ष रहने भनिएको छ । अहिलेसम्म गोरखा र धादिङतर्फ गरी ४९ हजार ९५ रोपनी जग्गाको मुआब्जाबापत ३४ अर्ब २१ करोड रुपैयाँ वितरण गरिएको छ ।

यस्तै २२ हजार चार सय तीन घरगोठलगायत अन्य भौतिक संरचना, सात लाख ८७ हजार आठ सय ५४ वटा बोटबिरुवा तथा फलफूको क्षतिपूर्तिबापत जग्गाधनीलाई छ अर्ब ९१ करोड रुपैयाँ वितरण गरिएको छ ।

आयोजनाबाट भौतिक तथा आर्थिकरूपमा गोरखा र धादिङका आठ हजार एक सय १७ घरपरिवार प्रभावित हुने छन् । यसमध्ये तीन हजार पाँच सय ६० घरपरिवार पूर्णरूपमा विस्थापित हुने छन् । गोरखा र धादिङको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि दुई सय ६३ मिटर अग्लो बाँध बनाइने छ ।

बाँध बाँधेपछि थुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटरमा फैलने छ । जसबाट धादिङका १० वटा पालिका प्रभावित हुनेछन् । आयोजनाको अधिकतम जलशतह पाँच सय ४० मिटरसम्म रहने छ । आयोजनाबाट वार्षिकरूपमा तीन अर्ब ३८ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ ।

मुख्य समाचारबाट थप समाचार